भौतिक मल्ल । बाँके, २० माघ
बाँकेको कोहलपुरमा रहेको गोल्छा समूहको जग्गा नेकपा माओवादीले कब्जा गरेको छ । उद्योगको नाममा रहेको जग्गा प्लटिङ गरेर बिक्री गर्न थालिएको भन्दै माओवादीको बाँके जिल्ला पार्टीले कब्जा गरेको हो । उद्योगको नाममा रहेको जग्गामा उद्योग नै संचालन गर्न पनि माओवादी बाँकेले बताएको छ । उद्योग सञ्चालन गरी मजदुरलाई रोजगारीको अवसर सिर्जना गर्नुको सट्टा जमीनलाई खण्डीकरण गरी दलाल पुँजीको विकासमा तिब्रता गरेको माओवादीको दावी छ ।
नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको माओवादीका बाँके जिल्ला सेक्रेटरी मानबहादुर रोकाया शक्तिको नेतृत्वमा गएको टोलीले उक्त जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेको छ । साथै सो जग्गा बिक्री गर्न नपाउने चेतावनी दिएको छ । मंगलबार बिहान गएको माओवादीको जिल्ला टोलीले जग्गा कब्जा गरी उक्त चेतावनी दिएको हो । जग्गामा टाँसिएको ब्यानरमा ‘उद्योगको नाममा दर्ता गरिएको जग्गामा उद्योग सञ्चालन गरी हजारौ मजदुरलाई रोजगारीको सिर्जना गर्नुको सट्टा जमीनलाई खण्डीकरण गरी दलाल पुँजीको विकासमा तिब्रता दिँदै गएको’ बताइएको छ ।
जग्गा कब्जापछि पत्रकारसँग कुरा गर्दै माओवादीका बाँके सेक्रेटरी शक्तिले दलाल पुँजीपतिहरुमाथि अब पार्टीले कारवाही गर्ने बताए । उनले युद्धकालमा पार्टीको कब्जामा रहेका केही दलालका जग्गाहरु पुनः कब्जा गरिने पनि बताए । साथै उनले पछिल्लो समय एमाओवादीको एउटा टोली भूमाफियाहरुको साथमा लागेर जमिनको खण्डिकरण गर्न लागेको बताए । उनले यसअघिसम्म बिक्री गरिसकिएका जग्गामा किन्नेहरुलाई बस्न आग्रह गर्दै त्यसमा आफूहरुले केही नगर्ने बताए । तर, बिक्री गर्न बाँकी भनिएको जग्गा भने कुनै मुल्यमा पनि बिक्री गर्न नदिने उनको भनाई थियो ।
